काठमाडौं । जाजरकोट भूकम्पमा परी दुई जिल्लामा १ सय ५७ जनाको मृत्यु भएको छ भने ६ जिल्लामा २ सय २ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बलका नायव उपरीक्षक एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले भूकम्पमा परी शनिबार बेलुकीसम्म जाजरकोट र रुकुम पश्चिममा गरी १५७ जनाको मृत्यु भएको बताउनु भएको छ । थापाले भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १०५ जनाको र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको जानकारी हो।
त्यस्तै, भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमसँगै कर्णाली र सुदूरपश्चिमका ६ जिल्लामा घाइते भएका छन् । जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेखमा तीन, बैतडीमा तीन, जुम्लामा पाँच र रोल्पामा एक जना घाइते भएका छन् । उहाँहरूमध्ये केही गम्भीर रहेका छन् । गम्भीर घाइतेलाई उपचारका लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौं लगिएको छ । सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्था तथा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।



रुकुम पश्चिममा ८५, जाजरकोटमा ८१ जुम्लामा ५ जना, दैलेखमा २ जना, सल्यानमा १ जना घाइते भएको प्रहरीले जनाएको छ । भूकम्पमा परी रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका–१४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरसहितका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
तर त्यसमध्ये आठबीसकोट–१४ का मात्रै २७ जना छन् । त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँके टोलका १ र पिपल चौरका १ जनाको मृत्यु भएको छ । भूकम्पमा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेका घाइतेहरुलाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौं ल्याइएको छ । काठमाडौं ल्याइएका घाइतेहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा अहिले तीन वटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेको जनाइएको छ । भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ ।
गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट–१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प जाँदा ठूलो मानवीय र भौतिक क्षति भएको हो ।



