एजेन्सी । भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा ३९ सेकेण्डको फरकमा दुईवटा शक्तिशाली भूकम्पका धक्का महसुस गरिएका छन् ।
सुरुमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको भनिए तापनि भूकम्पीय तथ्याङ्कहरूको विश्लेषणपछि अधिकारीहरूले त्यसलाई परिमार्जन गर्दै ७ दशमलव ५ म्याग्निच्युडको मुख्य भूकम्प जानुअघिको पूर्वकम्पका रूपमा वर्गीकरण गरेका छन् ।



अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु भेनेजुएलाको केन्द्रीय क्षेत्रमा पर्ने काराबोबो राज्यको मोन्टालबान नगरपालिकामा रहेको थियो, जुन राजधानी काराकासबाट झण्डै ३०० किलोमिटर पूर्वमा पर्छ । यो भूकम्प पृथ्वीको सतहबाट १३.२ किलोमिटरको गहिराइमा मात्र गएकाले यसलाई कम गहिराइको भूकम्प मानिएको छ । शक्तिशाली भूकम्पका कारण के कति क्षति भयो भन्नेबारे भेनेजुएलाका अधिकारीहरूले अहिलेसम्म यकिन गरिसकेका छैनन् ।
यसअघि भेनेजुएलामा सन् २०१८ मा यस्तै प्रकृतिको ठुलो भूकम्प गएको थियो, जतिबेला सुक्रे राज्यलाई केन्द्रबिन्दु बनाएर गएको ७.३ म्याग्निच्युडको भूकम्पले ब्राजिल, गुयाना र विभिन्न क्यारिबियन टापुसहित यस क्षेत्रका कम्तीमा १० वटा देशमा असर पारेको थियो ।



