काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सामूहिक भेटेका छन् ।
दुई साता देखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच नेता बिहान त्यहाँ पुगेका थिए । पूर्वराजा शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई भैरहवा बोलाएपछि अध्यक्ष राजेन्द्र लिंदेनका साथै बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, धवल शमशेर राणा र दीपक सिंह ज्ञानेन्द्र भेट्न बुधबार बिहान त्यहाँ पुगेका हुन् । नेताहरुसँगको भेटका क्रममा पूर्वराजा शाहले आफू ऐतिहासिक संसंस्थाको प्रतिनिधित्व गरिरहेको र सबैलाई एकताको सुत्रमा बाध्ने काम गरेको बताएका छन् । ‘हामी सबैले धेरै देख्यौ÷बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन’, भैरहवामा भएको सामूहिक भेटका क्रममा भएको शाहको भनाइ उधृत गर्दै नेता रविन्द्र मिश्रले सामाजिक संजालमा लेखेका छन । केहि दिन देखि भैरहवामा रहेका शाह अनौपचारिक भेटघाटमा व्यस्त छन्। उनले विभिन्न व्यक्तिहरूलाई सामूहिक र एक्ला एक्लै पालैपालो भेटघाट गरेका छन् । एक सातामा उनी एउटा मात्रै औपचारिक कार्यक्रममा सहभागी भए । गत शनिवार उनले शिवराज नगरपालिका—३ खरेन्द्रपुर चोक कपिलवस्तुमा नेपालमै पहिलो पटक पृथ्वीनारायण शाहले जङ्गी घोडा चढेको सालिक अनावरण गरेका थिए ।



पुस १९ गते भैरहवामा पूर्व राजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।



