काठमाडौं । भारतमा हुने जी–ट्वान्टीको दुई दिने शिखर सम्मेलनका लागि राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नयाँ दिल्ली पुग्ने क्रम जारी छ ।
शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडन साँझ सात बजे दिल्ली आइपुग्नु हुनेछ । उहाँले आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्वीपक्षीय भेटवार्ता गर्ने तालिका रहेको छ । शनिबार हुने जी ट्वान्टी मुलुकका सरकार र राष्ट्रप्रमुखहरु ‘वन अर्थ’ र ‘वन फ्यामिली’ सत्रमा सहभागी हुनेछन् । बेलायती प्रधानमन्त्री ऋषि सुनक पनि दिल्ली आउने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने शिखर सम्मेलनमा सहभागी हुने छैनन् । विश्वका शक्तिशाली नेताहरुको जमघट हुने भएकाले सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।



सम्मेलनमा जलवायू परिवर्तनको असर नियन्त्रण, विश्व अर्थतन्त्र, खाद्य तथा इन्धनको बढ्दो मूल्य, कर्जा संकट, गरिबी निवारण, विकासलगायतका मुद्दामा छलफल हुनेछ । रुस युक्रेन युद्धलाई लिएर जी–ट्वान्टीका सदस्य राष्ट्रहरुबीच मतभेद देखिएकाले शिखर सम्मेलनले साझा घोषणापत्र जारी गर्ने सम्भावना देखिएको छैन । शिखर सम्मेलनमा २० सदस्य राष्ट्रका अतिरिक्त ९ राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई विशेष आमन्त्रितका रुपमा निम्त्याइएको छ । जसमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि हुनुहुन्छ । शिखर सम्मेलनले अफ्रिकन यूनियनलाई समूहको सदस्यता दिने कुरालाई अनुमोदन गर्ने तयारी छ । हाल जी–ट्वाटीमा अमेरिका, बेलायत, भारत, रुस, चीनलगायतका १९ राष्ट्र र यूरोपेली संघ गरी २० सदस्य रहेको छ ।



