काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तीन दिने केन्द्रीय कार्यसमितिको बैठकले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको राज्य शक्तिको दुरुपयोग केबल अंकको भ्रष्टाचार मात्र नभएको निष्कर्ष निकालेको छ ।
बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषिलाई कानून बमोजिम आकर्षित हुने राज्यविरुद्धको अपराध ठगी, संगठित अपराध र सरकार दस्तखत किर्तेलगायतका कसुरमा कारवाही चलाउन जोडदार माग गरेको छ । भ्रष्टाचार निर्मुल पार्नका लागि क्यान्टोमेन्ट घोटला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइडबडी काण्डलगायतका घटनामा समेत छानविन गरी दोषिलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ ।
२०४६ सालपछिका उच्च राजनीतिक लाभको पदमा रहेका तथा कर्मचारीको सम्पत्ति छानविन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न पनि सरकारलाई दबाब दिएको छ । राप्रपाले बैंक तथा वित्तिय संस्थाले चर्को व्याजदर असुलेकोले नागरिकले आत्मदाह गर्ने परिस्थिति बढेको भन्दै तत्काल ऋणको ब्याजदर घटाउन माग गरेको छ ।






