काठमाडौं । हाङझावमा जारी एसियाड अन्तर्गत आज सुरु भएको पुरुष क्रिकेटको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जीत निकालेको छ । पहिलो पटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मंगोलियालाई हराउने क्रममा नेपालले विश्व कीर्तिमानको वर्षा गर्यो । एसियाडको पुरुष क्रिकेटको पहिलो खेलमा टस गुमाएर पहिलो ब्याटिङ गरेको नेपालले पुरै ओभरमा ३ विकेट गुमाएर ३१४ रनको विशाल योगफल खडा गर्यो । ३१५ रनको चुनौती पछ्याएको मंगोलिया १३ ओभर १ बलमा ४१ रन बनाएर अलआउट भयो । नेपालले विश्व कीर्तिमानी २७३ रनको फराकिलो जित निकाल्यो । टी– ट्वान्टी आईमा कीर्तिमानी जीत निकाल्ने क्रममा नेपालले १० वटा विश्व कीर्तिमानको चाङनै खडा गर्यो ।




१. नेपालले निकालेको २७३ रनको जीत टी–ट्वान्टी आईमा विश्व कीर्तिमानी जीत हो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनले हराएको थियो ।
२. टी–ट्वान्टी आईको कुनै पनि इनिङमा नेपालले बनाएको ३१४ रन अहिलेसम्मकै सर्वाधिक उच्च रन हो । अहिलेसम्म कुनै पनि टोलीले टी–ट्वान्टी आईमा ३ सय रन पार गरेको छैन् । यसअघि, २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध र चेक रिपब्लिकले टर्कीविरुद्ध समान २७८ रन बनाएको थियो ।
३. ३१४ रन बनाउँदा नेपालले सर्वाधिक रन रेटको बनाउने विश्व कीर्तिमान पनि आफ्नो नाममा लेखाएको छ । यो खेलमा नेपालको १५.७ रन रेट रह्यो ।
यसअघि २०१९ मा आयरल्याण्डविरुद्ध अफगानिस्तानले १३.९ को रन रेट बनाएको थियो ।

४. मंगोलियविरुद्ध नेपालले एकै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान समेत बनायो । विशाल योगफल बनाउने क्रममा नेपालले कुल २६ छक्का प्रहार गर्यो । यसअघि २०१९ मा टर्कीविरुद्ध रेकर्ड चेक रिपब्लिकले २२ छक्का प्रहार गरेको थियो ।
५. यसक्रममा बाउण्ड्रीबाट अहिलेसम्मकै धेरै रन बनाउने विश्व कीर्तिमान पनि नेपालकै नाममा रह्यो । एकै इनिङमा नेपालले १४ चौका र २६ छक्काबाट मात्र कुल २१२ रन जोड्यो । यसअघि २०१७ मा श्रीलंकाविरुद्ध भारतले २१ चौका र २१ छक्काको मद्दतमा २१० रन बनाएको थियो ।
६. नेपालका लागि तेस्रो नम्बरमा आएका ब्याटर कुशल मल्लले नटआउट १३७ रन बनाए । टी–ट्वान्टी आईमा तेस्रो नम्बरका ब्याटरले बनाएको यो अहिलेसम्मकै धेरै रन हो । यसअघि, २०१२ मा न्यूजिल्यानण्डका ब्रेन्डन म्याकुलमले तेस्रो नम्बरमा आएर बंगलादेशविरुद्ध १२३ रन बनाएका थिए ।
७. यो खेलमा अलराउण्डर दीपेन्द्र सिंह ऐरीले १० बलमा ५२ रन बनाउने क्रममा एकै इनिङमा ५२० को स्ट्राइक रेट राखे । यो अहिलेसम्मकै सर्वाधिक स्ट्राइक रेटको विश्व कीर्तिमान बन्यो । यसअघि, २००७ मा वेष्ट इण्डिजका ड्वेन स्मिथले बंगलादेशविरुद्ध ७ बलमा २९ रन बनाउँदै ४१४.२८ को स्ट्राइक रेट बनाएका थिए ।

८. खेलमा कुशल मल्लले ३४ बलमा शतक बनाउँदै सर्वाधिक कम बलमा शतक पुरा गर्ने विश्व कीर्तिमान बनाए । उनले २०१७ मा दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमशेकाराले समान ३५–३५ बलमा शतक बनाएका थिए ।
९. त्यस्तै दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक बनाउँदै टी–ट्वान्टी आईमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने विश्व कीर्तिमान राखे । यसअघि, २००७ मा भारतका युवराज सिंहले इङ्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।
१०. मंगोलियाविरुद्ध कुशल मल्ल र कप्तान रोहित पौडेलबीच तेस्रो विकेटका लागि १९३ रनको साझेदारी बन्यो । टी–ट्वान्टी आईमा तेस्रो विकेटका लागि बनेको यो नै अहिलेसम्मको उच्च साझेदारी हो । यसअघि, २०२० मा न्यूजिल्याण्डका डेभन कन्वे र ग्लेन फिलिप्सले वेस्टइन्डिजविरुद्ध १८४ रनको साझेदारी गरेका थिए ।



