काठमाडौं । निर्वाचन आयोगले देशभर मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । आम नागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले हरेक वडामा एक–एक जना मतदाता स्वयंसेवक परिचालन गरिएका छन् ।
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएका र बदर मत घट्न नसकेको बिगतको अनुभव देखिन्छ । निर्वाचन आयोगले आज सुरु भएको मतदाता शिक्षाका लागि देशभरका ७५३ वटै स्थानीय तहका सबै वडामा एक–एक जना शिक्षा स्वयंसेवक परिचालन गरेको छ । आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने छन् । प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास लिइएको छ। मतदाता शिक्षा फागुन १७ गतेसम्म चल्नेछ ।



डिजिटल मतदाता शिक्षा विगतका निर्वाचनमा देखिएका कमजोरीलाई सुधार्दै आयोगले यस पटक ‘डिजिटल मतदाता शिक्षा’ कार्यक्रम पनि लागु गरेको छ । कागजको प्रयोगलाई न्युनिकरण गर्ने उद्देश्यले आयोगले पोस्टर र पम्प्लेटको सट्टा सामाजिक सञ्जाललाई प्राथमिकता दिएको छ। निर्वाचन आयोगको आधिकारिक सामाजिक सञ्जाल पेजहरु जस्तै फेसबुक, टिकटक, युट्युव, एक्समा ‘इलेक्सन कमिसन नेपाल’ मा भिडियो, एनिमेसन र ब्रोसरहरू उपलब्ध रहेका छन् । आम सञ्चार माध्यम मतदाता शिक्षाका लागि आम सञ्चार माध्यमहरु पनि प्रयोग हुनेछन् ।
सरकारी सञ्चार माध्यमहरु टिभि, रेडियो र पत्रपत्रिकाबाट पनि मतदाता शिक्षाका सामाग्रीहरु प्रकाशन र प्रसारण गरिनेछ । प्रभावकारिता अनुगमन विगतका कार्यक्रम प्रभावकारी नभएको र बदरमत घट्न नसकेको आरोप लाग्दा आयोगलेले यसपटक (अभियानको प्रभावकारिता अनुगमन गर्न प्रविधिको प्रयोग गरेको छ। हरेक स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिहरूलाई अनुगमनको जिम्मेवारी दिइएको छ भने केन्द्रबाट ह्वाट्सएप ग्रुपमार्फत दैनिक रिपोर्टिङ र अनुगमन भइरहेको छ।) आयोगले यसपटक प्रविधि र प्रत्यक्ष घरदैलो दुवै माध्यमलाई जोड दिएकाले बदर मतको संख्यामा कमि आउने अपेक्षा गरिएको छ।
आफ्नो अमूल्य मत सही तरिकाले प्रयोग गर्न र लोकतन्त्रलाई बलियो बनाउन सचेत नागरिकको हैसियतले यो अभियानमा सहभागी हुनु सबैको कर्तव्य हो। (निर्वाचन सम्बन्धी थप जानकारीका लागि आयोगको टोल फ्री नम्बर ११०२ मा सम्पर्क गर्न वा आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजहरू हेर्न सकिनेछ।)




