मलेसियामा नेपाली श्रमिक पठाउन मुख्य एजेन्सीका रूपमा सूचीकृत भएका २५ म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले विस्तृत अनुसन्धान थालेको छ। मलेसियाले विदेशी श्रमिक भर्नाका लागि लागू गरेको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) अन्तर्गत सीमित एजेन्सीमार्फत मात्रै श्रमिक भर्ना गर्ने व्यवस्था अघि बढाएपछि उत्पन्न विवादका बीच विभागले अनुसन्धान अघि बढाएको हो।

वैदेशिक रोजगार विभागका महानिर्देशक नवराज ढकालका अनुसार यसअघि कम्पनीहरूसँग स्पष्टीकरण माग गरिएको थियो। प्राप्त जवाफ अध्ययन गर्दा थप अनुसन्धान आवश्यक देखिएपछि अनुसन्धान अधिकृत तोकेर कानुनी प्रक्रिया अघि बढाइएको हो। मलेसियाले नेपालका २५ म्यानपावर कम्पनीलाई मुख्य र २५० कम्पनीलाई सहायक एजेन्सीका रूपमा सूचीकृत गरेको छ। विभागले मुख्य एजेन्सीमाथि विस्तृत अनुसन्धान थाले पनि सहायक एजेन्सीको हकमा भने अहिले प्रशासनिक सोधपुछ र प्राप्त जवाफको अध्ययन गरिरहेको जनाएको छ।

विभागले वैदेशिक रोजगार ऐनको दफा ६१ अन्तर्गत अनुसन्धान अघि बढाएको हो। अनुसन्धान अधिकृतले सम्बन्धित कम्पनीका प्रतिनिधिलाई बोलाएर सोधपुछ गर्ने, बयान लिने तथा आवश्यक प्रमाण सङ्कलन गर्ने प्रक्रिया अघि बढाउन सक्नेछन्। मलेसियाले एफडब्लूसीएमएस प्रणालीबाहेक अन्य प्रक्रियाबाट नेपाली श्रमिक भर्ना नगर्ने जवाफ दिएपछि नेपाल र मलेसियाबीचको श्रमिक भर्ना प्रक्रियासम्बन्धी विवाद थप पेचिलो बनेको छ। नेपालका वैदेशिक रोजगार व्यवसायीहरूले सीमित एजेन्सीमार्फत मात्रै श्रमिक भर्ना गर्ने व्यवस्थाले खुला प्रतिस्पर्धामा असर पार्ने भन्दै आपत्ति जनाउँदै आएका छन्।

समस्या समाधानका लागि श्रम मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरिरहेको जनाएको छ। मलेसियासँग संयुक्त प्राविधिक समितिको बैठक बोलाउने विषयमा पनि गृहकार्य भइरहेको छ। नेपालले बैठकका लागि मलेसियालाई ताकेता गर्दै आए पनि जवाफ नआएपछि बैठकको मिति प्रस्ताव गरेर पठाउने तयारी गरेको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले मलेसियाको यस्तो व्यवहारलाई हेपाहा प्रवृत्तिको संज्ञा दिँदै विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्। श्रमिकमाथि आर्थिक शोषण हुन सक्ने भन्दै उनले सीमित एजेन्सीमा केन्द्रित यस्तो प्रक्रिया स्वीकार गर्न नसकिने धारणा राखेका छन्। विभागको अनुसन्धानबाट सूचीकृत कम्पनीहरूको भूमिका, छनोट प्रक्रिया तथा कानुनविपरीत गतिविधि भए–नभएको विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय