काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाआराधना र दर्शन गर्न आएका नागा बाबासहितका साधुसन्तको बिदाइ सुरु भएको छ ।



गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषका अनुासार नेपाल र भारतका विभिन्न स्थानबाट आएका साधुसन्तलाई ५५१ रुपैयाँदेखि ११ हजार रुपैयाँसम्म दक्षिणा दिइ बिदाइ गर्ने परम्परा रहेको छ । संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार पशुपति क्षेत्र र थापाथली क्षेत्रमा चार हजारभन्दा बढी साधुसन्त उपस्थित छन् ।
कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशी ले भने, “संस्थानले दिएको दक्षिणाको आधा रकम कोषले थपेर साधुसन्तलाई बिदाइ गरिन्छ । महाशिवरात्रिको अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म साधुसन्तलाई खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराइन्छ ।”
यस वर्षको बिदाइमा राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गरेका लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्री साधुसन्तलाई प्रदान गरिने बताइएको छ ।




