काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ ।



राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आज बिहान ८ बजेदेखि शुरु भएको जनाएको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । बोर्डका अनुसार यसवर्ष चैत २९ गतेसम्म संचालन हुने परीक्षामा ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका हुन् । एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एक गरी १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् ।
सबै भन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेका छन् भने सबै भन्दा कम मनाङमा रहेको बार्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार काठमाडौंका १ सय ३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १ सय ५५ जना विद्यार्थीले परीक्षा दिँदै छन् । सबै भन्दा कम मनाङमा भने एउटा परीक्षा केन्द्रबाट ३७ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । जापानमा रहेको केन्द्रबाट २३ जना विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।
बालसुधार गृहमा रहेका विद्यार्थीका लागि नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा दिनेगरी व्यवस्था मिलाइएको छ । त्यस्तै, विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीलाई उनीहरुको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ । ३ घण्टाको परीक्षामा उनीहरूलाई थप १ घण्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइएको बताइएको छ । परीक्षा नियन्त्रक कार्यालयले यसवर्षको एसईई परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्ने गरी तयारी गरेको छ ।
सरकारले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएकाले सोहीअनुसार तयारी गरिएको कार्यालयलयले जनाएको छ ।



