रगतको अभावलाई पूर्ति गर्ने र जीवन बचाउने महान् उद्देश्यका साथ आज चन्द्रागिरि नगरपालिका वडा नं १०, काठमाडौं मा एक वृहत रक्तदान कार्यक्रमको आयोजना गरियो। स्थानीय स्तरमा सक्रिय ‘हामी सक्छौं’ संस्थाको पहलमा आयोजित यो कार्यक्रमले वडाका स्थानीय बासिन्दा तथा शैक्षिक समुदायलाई एकजुट गराएको छ।



काठमाडौं शिक्षा क्याम्पस (KEC) को प्राङ्गणमा बिहान ठिक ८ बजेदेखि सुरु भएको यस कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं १० को कार्यालय, काठमाडौं शिक्षा क्याम्पस र त्रिवि ब्लड बैंक (TU Blood Bank) ले सहकार्य गरेका थिए।
‘रक्तदान जीवनदान हो’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै आयोजित यस कार्यक्रममा सहभागी स्वयंसेवीहरूले उत्साहजनक रूपमा रक्तदान गरे। विशेषगरी युवा र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेकोले कार्यक्रम अत्यन्त सफल रह्यो।



