सिरहा- मिटरब्याज सम्बन्धी छलफलको नाउँमा आतंक भएको भन्दै सिरहाका कानुन व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन । सिरहा जिल्ला अदालत बार एशोसिएशनले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदै कानूनी शासनको व्यवस्थाको पालना गर्न माग गरेको हो ।

मिटरब्याज पीडितको नाममा भएको आतकंले अड्डा अदालत, घर आवास सडकमा समेत कानून व्यवसायी असुरक्षित भएको ज्ञापनपत्रमा उल्लेख छ । मिटरब्याज सम्बन्धी उजुरी उपर छलफल र समाधान निकाल्दै गर्दा बारले अदालतमा विचारधीन मुद्दा र फैसला भएको मुद्दामा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट हस्तक्षेप भएको आरोप पनि ज्ञापनपत्रमा छ ।

ज्ञापन पत्रमा सिरहा जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको मिलोमतोमा अपराधमा संलग्न व्यक्ति थुनमुक्त गरिएको आरोप समेत लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका क्रममा कानून व्यवसायी अधिवक्ता सूर्य कुमार यादव र सुबोध नारायण गोईतमाथि आक्रमण भएको भन्दै छानविनको माग पनि कानुन व्यवसायीले गरेका छन ।

ज्ञापनपत्रमा सिरहा पुस्तकालयदेखि प्रादेशिक अस्पताल सिरहासम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नुपर्ने, कानून व्यवसायीलाई शान्ति सुरक्षाको कडा व्यवस्था गर्नुपर्ने, कानून व्यवसायी उपर भएको घटनाको दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने लगायतका माग गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय