गुल्मीमा मुसा मार्ने बिष खाँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ । भने पाँच वर्षीया बालिका गम्भीर बिरामी भएकी छिन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ ठाँटीकाचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको मृत्यु भएको र बसन्धुरा सुनारकी पाँच वर्षीया छोरी दिब्सिका सुनार गम्भीर बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
उनका अनुसार, आमा सपना र बसन्धुराले कोदो रोप्न बारीमा जाँदा छोरीहरुसँगै लिएर गएका थिए । फोहोरसँगै बारीमा फालिएको मुसा मार्न प्रयोग हुने राटोल नामको मलम प्रकृतिको विस माटोमा भेटिएपछि प्रिन्सा र दिब्सिकाले खाएका थिए । विस खाएको थाहा पाएपछि परिवारले उपचारका लागि गुल्मी अस्पताल ल्याएका थिए । जसमध्ये प्रिन्साको मृत्यु भएको हो । दिब्सिकाको उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास पठाइएको छ । उनी गम्भीर बिरामी छिन् ।



विष सेवन गरेका बालिकाको गाउँमा प्राथमिक उपचारपछि ढिलो गरी तम्घास पठाइएको बुझिएको छ । बुधबार घटना हुनसाथ उपचारका लागि गाउँकै अस्पतालमा लगिएकोमा उनले राति मात्र उपचारका लागि तम्घास पठाएको भन्ने बुझिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



