मुस्ताङको लोमान्थाङमा भदौ अन्तिम साता गल्फ प्रतियोगिता हुने भएको छ । विश्वकै सर्वाधिक उचाइमा रहेको गल्फ कोर्समा आयोजना हुने ‘टप अफ द वल्र्ड गोल्फ क्लासिक’ प्रतियोगिता हुन लागेको हो । आयोजक मुस्ताङ गल्फ कोर्सले पोखरामा पत्रकार सम्मेलन गर्दै भदौ २८ र २९ गते प्रतियोगिता संचालन हुने जानकारी दिएको छ । ४७ सय मिटर उचाइको लोवथाङमा चौथो संस्करणको प्रतियोगिता आयोजना गर्न लागको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिए । यसवर्षको प्रतियोगितामा देश तथा विदेशका ५५ देखि ६० गल्फरहरु च्याम्पियनसिपमा भाग लिने उनले बताए ।
नेपालका उत्कृष्ट ४ ‘प्रोफेसनल गल्फर’हरू बिच छुट्टै प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम द्वितीय र तेस्रो हुनेले क्रमशः३० हजार, २० हजार र १० हजार पुरस्कार सहित एम्योचर प्रतिस्पर्धाका विजेताहरूलाई उत्कृष्ट ट्रफी प्राप्त गर्ने छन् । विगत वर्षहरूमा ९ होलमा मात्रै खेलाइएको प्रतिस्पर्धा यो वर्ष १८ होलमा हुने भएको छ । सर्वाधिक चासो हुने ‘होल इन वान’ मा सजावट सहितको घोडा राखिने छ । प्रतियोगिता स्टेबलफोर्ड ढाँचामा खेलाइने उनले जानकारी दिए ।



विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टू द पिन, र लङ्गेस्ट ड्राइभका लागि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिनेछ । ‘होल इन वान’ होल नम्बर ३ मा हुनेछ । घोडा नै पुरस्कार राख्नु संसारकै गल्फरहरुका लागि अनौठो र चाखलाग्दो पुरस्कार रहेको विष्टले बताए ।प्रतियोगितामा सहभागिताका लागि आयोजकले गोकर्ण फरेस्ट रिसोर्ट, रोयल नेपाल गोल्फ क्लब, हिमालयन गोल्फ कोर्स, धरान गोल्फ क्लब, मिराया वेलनेस तथा गोल्फ रिसोर्ट र त्रिभुवन अफिसर्स आर्मी गोल्फ क्लबलाई विशेष रूपमा निमन्त्रणा पठाएको गण्डकी प्रदेशका पूर्व सांसद समेत रहेका विष्टले बताए । मुस्ताङको हिमाली सौन्दर्यको बीचमा आयोजना हुने यो दुई दिने प्रतियोगिता खेलाडीहरूका लागि अविस्मरणीय अनुभव बन्ने आयोजकको विश्वास छ ।



