काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै देशका धेरै ठाउँमा चुनावी माहोल जीवित छ । तर हिमाली जिल्ला मुस्ताङमा भने अवस्था फरक देखिन्छ । गाउँबस्ती सुनसान छन्, जिल्ला सदरमुकाम जोमसोम मा पनि चुनावी गतिविधि धेरै छैन ।
मंसिरमा चिसो छल्न सहर झरेका स्थानीय मतदाता र उम्मेदवार अझै गाउँ फर्किएका छैनन् । उम्मेदवार पनि अधिकांश सहरमै रहेकाले प्रचारप्रसार पनि सीमित छ ।



घरपझोङ–३ का स्थानीय आदित्य रसाइलीका अनुसार, “८० प्रतिशतभन्दा बढी मतदाता अहिले देशका ठूला सहरमा छन् । लोमान्थाङ, लो–घेकर र दामोदरकुण्ड गाउँमा अहिले हिउँ परेको छ, बस्न कठिन छ । माथिल्लो मुस्ताङवासी त चैतपछि मात्रै गाउँ फर्किन्छन् ।”
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), रास्वपा र अन्य दलका उम्मेदवारहरूले मुख्यतः पोखरा र काठमाडौंमै घरदैलो गर्दै मत मागिसकेका छन् । कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले आफन्तको उपचारका लागि भारतमा रहेकाले हालसम्म घरदैलो गर्न नपाएको बताए । एमाले उम्मेदवार इन्द्रधारा ढाडु विष्टले पनि सहरमा रहेका मतदातासँग छलफलमा केन्द्रित भएको बताए ।
नेकपा उम्मेदवार ङुटुङ गुरुङ सोमबार मात्र पोखराबाट मुस्ताङ उक्लिएका छन् । उनले भने, “चिसोका कारण अहिले मुस्ताङ सुनसान छ । मतदाता पाँच–सात दिनमा माथि उक्लिनेछन् । यसपालि चुनाव जित्ने उद्देश्य राखेका छौँ ।”
मुस्ताङमा कुल ११,३२८ मतदाता छन् र ३९ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । यसै निर्वाचन क्षेत्रमा प्रमुख चार दलका साथै आम जनता पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, राप्रपा र उज्यालो नेपाल पार्टीका उम्मेदवार पनि प्रतिस्पर्धामा रहेका छन् ।




