काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल्ने मैदानको अभावकै बीच साफ यू–२० च्याम्पियनसीपको तयारी पूरा भएको जनाएको छ । आगामी भदौ २ गतेदेखि नेपालमा हुने च्याम्पियनसीपमा ६ राष्ट्रले चुनौति प्रस्तुत गर्दैछन् ।
एन्फाले पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाए पनि मैदानको विषयमा भने अहिलेसम्म अन्योलता नै छ । नेपालले उद्घाटन खेलमा आईतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । तर, मैदानको अवस्था नाजुक भएकाले उद्घाटन खेल पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सार्न सक्ने सम्भावना बढेको छ । म्याच कमिसनरले मैदान हेरेपछि मात्र च्याम्पियनसीप कहाँ गर्नेबारे टुङ्गो लाग्ने एन्फाका प्रवक्ता सुरेश शाहले बताउनु भयो ।



समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भूटान छन् । नेपाली यू–२० टोलीले उज्जन श्रेष्ठको प्रशिक्षणमा तयारी गरिरहेको छ । एन्फाले सहभागी टोलीका लागि लगनखेलस्थित आर्मीको फुटबल मैदान, च्यासल र एन्फा कम्प्लेक्सलाई ट्रनिङ मैदानकोे विकल्पका रूपमा तयारी भइरहेको बताएको छ । एन्फाका उपाध्यक्ष दीपक खतिवडाले फुटबलको रंगशाला अभाव भइरहँदा फिफा र एएफसीबाट रंगशाला निर्माणमा सहयोग हुने पत्र आइसकेको उल्लेख गर्नुभयो । त्यसैले एन्फाले जग्गा खोजिरहेको बताएउनु भयो । सरकारले नै जग्गा दिए आफूहरू रंगशाला बनाउन तयार रहेको बताउनु भयो ।
मैदान तय भएपछि सातदोबाटोको एन्फा कम्प्लेक्सको लागि टिकट मूल्य निर्धारण गरिने भएको छ । सातदोबाटोमै खेल भए सामान्यतर्पmको मात्र टिकट बिक्री हुने भएको छ । दशरथ रंगशालामा नै खेल भए सामान्यतर्फ दुई सय र भिआइपीतर्फ पाँच सय मूल्य तोकिएको छ । यस च्याम्पियनसीपमा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भूटान र माल्दिभ्सले प्रतिष्पर्धा गर्दैछन् । दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार समूहचरणका ६ खेलसहित सेमिफाइनलका दुई र फाइनल खेल दशरथ रंगशलाको मैदानमै हुने तय छ ।



