युक्रेनको रक्षा मन्त्रालयका शीर्ष अधिकारी पक्राउ परेका छन् । गोलाबारुद खरिद प्रक्रियामा ४ करोड डलर भ्रष्टाचार गरेको आरोपमा रक्षा मन्त्रालयका अधिकारी पक्राउ परेका हुन् । पक्राउ गरिएका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन । सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा ती अधिकारीले एक कम्पनीसँग हतियार खरिद सम्झौता गरेका थिए ।
युक्रेनको सुरक्षा सेवा (एसबियु)का अनुसार हतियार खरिद गर्दा ती अधिकारीले वास्तविकभन्दा बढी मूल्य राखेको र सो अनुसार ४० मिलियन अमेरिकी डलर ट्रान्सफर गरिदिएका थिए । तर हतियार भने डेलिभर नभएको युक्रेनी रक्षा मन्त्रालयका सूचना अधिकारी इलारिअन पभल्युकले बताएका छन् । हतियार खरिद सम्झौता भएर रकम समेत पठाइसक्दा हतियार डेलिभरी नभएकाले युक्रेनी रक्षा मन्त्रालयले उक्त रकम फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको पभल्युकले बताएका छन् ।



हतियार खरिद सम्झौतामा घोटाला भएको पुष्टि भए ती अधिकारीलाई कम्तिमा १५ वर्ष जेल सजाय हुने एसबियुले बताएको छ । भ्रष्टाचारको आरोप लागेपछि गत सेप्टेम्बरमा मात्रै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षा मन्त्री ओलेक्सी रेज्निकोभलाई बर्खास्त गरेका थिए ।



