रसुवाको भोटेकोशी नदीमा असार २३ गते आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा व्यापार दुई हप्तादेखि ठप्प भएको छ। बाढीका कारण रसुवागढी भन्सार नाकामा व्यापक क्षति पुगेको छ भने सुख्खा बन्दरगाह, सवारी साधन र कन्टेनर समेत बगाएका छन्। बीमा प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्ससहित नौ वटा बीमा कम्पनीहरूले कुल २८ करोड ९२ लाख रुपैयाँ बराबरको बीमा दाबी पेस गरेका छन्। यी दाबीहरू कुल ६३ वटा रहेका छन्।



दाबीहरूमा सामुन्द्रीक बीमामा ६ वटा, इन्जिनियरिङ तथा ठेकदार जोखिममा ४ वटा, सम्पत्ति बीमामा १० वटा, मोटर बीमा सार्वजनिकतर्फ ३२ वटा र मोटर बीमा निजीतर्फ ११ वटा दाबी रहेको प्राधिकरणले जनाएको छ। यस बाढीले रसुवागढीबाट चीन तर्फको व्यापारमा ठूलो असर पुर्याएको छ। तिब्बतको जिलोङ क्षेत्रमा गएको पहिरोपछि अचानक आएको बाढीले भोटेकोशीमा व्यापक जनधन र पूर्वाधारमा क्षति पुर्याएको बताइएको छ। व्यवसायी र स्थानीयवासीहरूले तत्काल नाका पुनः सञ्चालनका लागि पहल गर्न सरकारसँग माग गरेका छन्।
सरकारी र स्थानीय निकायहरूले क्षतिको मूल्यांकन गरी पुनःनिर्माण र उद्धार कार्य तीव्रता दिनुपर्ने आवश्यक रहेको छ। साथै, आगामी वर्षहरुमा यस्ता प्राकृतिक विपद्का जोखिम न्यून गर्न प्रभावकारी पूर्वतयारी र व्यवस्थापन आवश्यक देखिएको छ।



