काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट टाढा रही कानुनको शासन कायम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभएको छ।महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जिम्मेवारी निर्वाह गर्दा कुनै पनि प्रकारको अनुचित प्रभावमा नपर्न प्रहरी अधिकृतहरूलाई आग्रह गर्नुभएको हो।
उहाँले प्रहरीको पेसागत मर्यादा, नैतिकता र निष्पक्षतामा जोड दिँदै बदलिँदो अपराधको प्रकृतिलाई मध्यनजर गरी सूचना प्रविधिको उचित सदुपयोग गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहले प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले संगठनको प्रोटोकलविपरीतका गतिविधि, व्यक्तिगत स्वार्थ र अनुचित प्रभावबाट टाढा रही निर्भीकताका साथ कर्तव्य निर्वाह गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिनुभयो।



नागरिकको जिउधनको रक्षा गर्नु र देशमा शान्ति सुरक्षा कायम गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यी दायित्व पूरा गर्ने क्रममा कुनै पनि प्रकारको सम्झौता नगर्न आग्रह गर्नुभयो। दीक्षान्त समारोहमा प्रहरी निरीक्षकको १–१८४औँ समूहका ७९ जना प्रशिक्षार्थी दीक्षित भएका छन्। दीक्षित हुनेमा ८ जना महिला र ७१ जना पुरुष रहेका छन्।



