काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर पार्टीकै कार्यसम्पादन समितिका ठाकुरमोहन श्रेष्ठ माथी कुटपिट भएको छ । महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले उहाँमाथि हातपात गरेका हुन् । पार्टीको कार्यसम्पादन समितिको बैठक आईतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको थियो । उक्त बैठकमा पार्टी अनुशासनका विषयमा छलफल चलिरहँदा श्रेष्ठले आफ्नो भनाइ राखेका थिए । उहाँले बोल्ने क्रममा भ्रष्टाचारको प्रसंग उठाए र महामन्त्री पाण्डेलाई सिधै ‘भ्रष्टाचारी’ भनेका थिए । त्यसपछि बैठक तनावपूर्ण बनेको थियो भने केही मानिसहरुले उहाँलाई लखेटी लखेटी कुटेको दृश्य प्रत्यक्ष प्रशारणमा समेत देखिएको थियो ।




आफूलाई भ्रष्टाचारी संज्ञा दिएपछि पाण्डे समेत उत्तेजित भएका थिए । त्यसपछि कार्यक्रममै आरोप प्रत्यारोप चलेको थियो । अध्यक्ष लगायतका सिनियर नेताले थुमथुम्याउने प्रयास समेत गरेका थिए । तर, पाण्डेले श्रेष्ठले भनाई फिर्ता नलिए आफू बैठक बहिष्कार गर्ने भनेर उठ्नुभएको थियो ।
पाण्डे उठेपछि अध्यक्षले सम्झाएर यो अभिव्यक्तिलाई गम्भीर रूपमा लिइने र आवश्यक देखिए कारबाही पनि गर्ने आश्वासन दिनुभयो । त्यसपछि पाण्डे थामिए र बैठक सुचारु भयो । यो घटनापछि नेताहरूले दुःख समेत व्यक्त गरेका थिए । पार्टीको जिम्मेवार नेतालाई ‘भ्रष्टाचारी’ भन्नु ठिक नभएको राय धेरैको थियो ।
एक छिनपछि पाण्डे बैठकबाट उठेर सरासर बाहिर गएका थिए भने पुन केही मिनेटमा फेरि फर्किएका थिए । अध्यक्ष लिङदेनले खाना खानका लागि बैठक स्थगित गर्नुभयो । सबै नेताहरू बाहिरिन थाले । नेताहरू लिङ्देनको कार्यकक्षबाट बाहिरिँदै गर्दा न्यूज एजेन्सी ‘सरोकार’ ले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण सुरु गरिसकेको थियो ।
भिडिओमा रवीन्द्र मिश्र, विक्रम पाण्डे, ज्ञानेन्द्र शाही, रोशन कार्की लगायतका नेताहरू बाहिरिएको देखिन्छ । त्यसपछि एकाएक अर्को साइडबाट ठाकुरमोहन भाग्दै आएको देखिन्छ । उहाँलाई केही व्यक्तिहरूले लखेटिरहेका हुन्छन् । लिङदेनको कार्यकक्ष भित्रछिर्ने ढोकाको ठिक अगाडि ठाकुरमोहनलाई समातेर भकाभक मुक्का प्रहार गरेको र बल्लतल्ल फुत्केर लिङदेनको कार्यकक्षभित्र छिरेको देखिन्छ ।
भित्रबाट दीपक सिंह, बुद्धिमान तामाङ लगायतका नेताहरू बाहिर निस्केर उत्तेजित भिडलाई रोक्छन् । त्यसपछि प्रत्यक्ष प्रशारण समेत बन्द गरिएको थियो । कार्यसम्पादन समितिका एक सदस्यका अनुसार ठाकुरमोहनको शरीरमा चोटपटक लागेको छ । ठाकुरमोहन पूर्व एआइजी हुनुहुन्छ । उहाँ आफ्नो नेतृत्वको पार्टी राप्रपामा विलय गराएपछि केन्द्रीय कार्यसम्पादन समिति सदस्य बन्नुभएको थियो ।



