कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल र नेपालकै सबैभन्दा ठूलो ताल रारा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकहरूको सुरक्षाका लागि नेपाल सरकारद्वारा पर्यटक प्रहरी पोष्ट स्थापन गरिएको छ। रारा क्षेत्रका पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारको पहलमा ताल्चा विमानस्थल नजिक र रारा जाने मुख्य बाटोमा अस्थायी पर्यटक प्रहरी पोस्ट स्थापना गरिएको हो।
सोमबार आयोजित एक औपचारिक कार्यक्रममा रारा क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरूको सुरक्षा बढाउनका लागि पर्यटक प्रहरी पोष्टको उद्घाटन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले रारा र मुगुका अन्य धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरूमा घुम्न आउने पर्यटकहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै, पर्यटकहरूको यात्रा सुरक्षित र आनन्ददायी बनाउन पर्यटक प्रहरी पोष्ट आवश्यक भएको बताए। उनले थपे कि कर्णाली प्रदेशको मुगु जिल्लामा पहिलो पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको छ।



नगर उपप्रमुख ऐश्वर्या मल्लले आगामी भविष्यमा सल्लेरीमा स्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गर्ने योजना रहेको जानकारी दिइन्। उनले भनिन् कि, सल्लेरीमा भवन र अन्य भौतिक संरचना निर्माणका लागि नगरपालिकाले सार्वजनिक जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाइसकेको छ। वन मन्त्रालयबाट जग्गा प्राप्ति स्वीकृत भएपछि, स्थायी रूपमा सल्लेरीमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिनेछ। नेपाल प्रहरीका नायव उपरिक्षक सरोज गिरिले पर्यटक प्रहरी पोष्टले मात्र पर्यटकहरूको सुरक्षा गर्न भूमिका नपाएर, अपराध नियन्त्रण र अन्य सुरक्षात्मक कार्यहरूमा पनि योगदान पुर्याउने बताए। यसले नेपाल प्रहरीलाई मुगु जिल्लामा काम गर्न सहज बनाउने र रारा र अन्य पर्यटकीय स्थलहरूमा घुम्न आउने पर्यटकहरूको भ्रमणलाई सुरक्षित बनाउने विश्वास व्यक्त गरे।
हाल देशभरि २९ वटा पर्यटक प्रहरी युनिटहरू कार्यरत छन्, तर कर्णाली प्रदेशमा पहिलो पटक मुगु जिल्लामा ३० औं पर्यटक प्रहरी युनिट स्थापना भएको छ। यसले कर्णाली प्रदेशमा पनि पर्यटक प्रहरीको उपस्थिति सुनिश्चित गरेको छ। पर्यटक प्रहरी पोष्टको मुख्य उद्देश्य भनेको घुम्न आउने पर्यटकलाई सुरक्षित महसुस गराउनु, अपराधिक गतिविधिहरूमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिनु र गाइडको रूपमा कार्य गर्नु रहेको सहायक प्रहरी निरीक्षक सन्जु कुमार विश्वकर्माले बताए।
छायानाथ रारा नगरपालिकाले रारा क्षेत्रमा पर्यटक प्रहरीलाई बस्नको लागि घर, खानेपानी, विजुली लगायतका आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै, पर्यटक प्रहरीका लागि उचित कार्य वातावरण तयार गर्नुपर्ने बताएका छन्। रारा मात्र नभई यस क्षेत्रका धार्मिक स्थलहरू, हिमाल, गुफा र जंगलहरूमा पर्यटकहरू एक्लै घुम्न डराउँछन्। अब पर्यटक प्रहरीको उपस्थिति सुरक्षा थप्ने र पर्यटकहरूको यात्रा सहज बनाउने विश्वास व्यक्त गरिएको छ।



