काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दल सहभागी छन् । राष्ट्रपतिले राष्ट्रिय राजनीतिमा अनावश्यक सक्रियता देखाएको भन्दै एमालेले बैठक बहिस्कार गरेको हो ।
एमालेले संसद्मा गरिरहेको निरन्तर अवरोध खुलाउने विषयमा राष्ट्रपतिद्वारा आइतबार निर्धारित समयअनुसार आज सर्वदलीय बैठक बसेको हो । संसद्को अवरोध हटाउन एमाले तयार भइसकेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन सहमति भएसँगै एमालेले संसदमा अवरोध नगर्ने भएको हो । सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, रास्वपाका सभापति रवि लामिछाने, जसपा नेता प्रदीप यादव, जनमत पार्टीका नेता अब्दुल खान, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, स्वतन्त्र सांसद अमरेश कुमार सिंहलगायतको सहभागिता रहेको छ ।






