काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । परराष्ट्र मन्त्रालयले राष्ट्रपति पौडेलको उपचार खर्चको रकम निकासाका लागि अर्थमन्त्रालयलाई असार १८ गते पत्राचार गरेको हो । राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँको निकासा गर्न परराष्ट्रले अर्थलाई पत्राचार गरेको हो । यसअघि बैशाख १९ गते राष्ट्रपति पौडेलको स्वकीय सचिवालयका प्रेस संयोजक खिला कार्कीले राष्ट्रपतिको उपचार खर्च आफैंले व्यहोर्न चाहेको प्रेस नोट जारी गरेका थिए ।




कांग्रेस सांसद गगन थापाले पनि उपचार खर्च स्वयम्ले व्यहोरी सही नजिर बसाल्न राष्ट्रपति पौडेललाई सुझाव दिनुभएको थियो । यद्यपी सरकारले नै उक्त रकम तिर्ने निर्णय गरेको छ ।
काठमाडौंबाट दिल्लीमा एयर एम्बुलेन्समा राष्ट्रपतिलाई लैजाँदा सबैभन्दा धेरै ३३ लाख रुपैयाँ खर्च भएको र दिल्लीको उपचारमा करिब ७ लाख रुपैयाँ र फर्कंदाको करिब ६ लाख खर्च भएको देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । योसँगै ती सबै रकमको बिलसहित रकम निकासाका लागि परराष्ट्रले अर्थलाई अनुरोध गरेको हो ।



