काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ । सिंहदरबारमा अपराह्न साढे ३ बजे सुरु भएको बयान राति १ बजेसम्म लिइएको थियो ।
तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले लामिछानेसँग समितिले बयान लिएको हो । समितिका सदस्यले विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको रकम र तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेका दायित्वका विषयमा ५१ प्रश्न सोधेका थिए । अधिकांश प्रश्नमा उहाँ उम्किन खोजेको समितिका एक सदस्यले जानकारी दिनुभएको थियो ।



लामिछानेलाई तथ्य र प्रमाणसहित सोधिएका कतिपय प्रश्नमा स्वीकार गरेको पनि बताउनु भयो । लामिछाने आफू १४ महिना प्रबन्ध निर्देशक रहेको कम्पनीको आर्थिक कारोबारबारे आफुलाई थाहा नभएको, सहकारीबाट आएको रकमको कानुनी दायित्य आफूमा नरहेको जवाफ दिनुभएको छ ।
उहाँले आफूले गोरखा मिडियामा कार्यक्रम उत्पादन र सञ्चालनको पक्षमात्र हेरेको र आर्थिक पक्ष जीबी राईले जिम्मेवारी लिएको उल्लेख गर्नुभयो ।



