काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ । पूर्वगृहमन्त्री लामिछानेमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गरेपछि आजबाट थुनछेक बहस सुरु हुने भएको हो ।
सहकारीको रकम अपचलनको आरोपमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले त्यसयता हिरासतमा राखेर अनुसन्धान गरेको थियो । प्रहरीको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा लामछिानेसहति ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो । लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जनाएको छ ।



यसैबीच अदालतमा मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।



