पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिदै छ ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीको टोलीले शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगेको थियो । शनिबार सार्वजनिक बिदा परेकाले लामिछानेलाई आज अदालतमा पेस गर्न लागिएको हो ।

म्याद थपपछि प्रहरीले लामिछानेविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ । जिल्ला अदालत कास्कीले शुुक्रबार नै लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई सीतापाईला भीमढुंगा हुँदै शनिबार बिहान करिब पौने तीन बजे पोखरा पुर्याइएको थियो ।

सूर्यदर्शनसहितका सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्धनिर्देशक लामिछानेलाई पक्राउ गरिएको हो । संसदीय छानबिन विशेष समितिले सहकारी बचत अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय