काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ। सुनारसँग सम्बन्धित प्रकाशित समाचार, सार्वजनिक श्रव्य सामग्री तथा उहाँमाथि उठेका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै पार्टीले केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

पार्टीका महामन्त्री विपिन आचार्यले आज जारी गरेको विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याएको, अनुचित दबाब दिएको, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसँग सम्बन्धित आरोपहरू गम्भीर र संवेदनशील रहेको उल्लेख गरिएको छ। एक महिलालाई धम्की दिएको तथा ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले सुनारलाई छानबिन अवधिभर कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको हो।

विज्ञप्तिमा विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको पार्टीले आफ्ना सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसक्ने स्पष्ट पारिएको छ।
त्यस्तै, सार्वजनिक भएका विषयको गम्भीरतालाई ध्यानमा राख्दै राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनुपर्ने पार्टीको भनाइ छ। राज्यका निकायले गर्ने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि रास्वपाले व्यक्त गरेको छ। सुनारमाथि सार्वजनिक भएका आरोपबारे अनुसन्धान प्रक्रिया अघि बढिरहेको अवस्थामा आरोप पुष्टि भइसकेको निष्कर्ष भने निकालिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय