विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जंगलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पु¥याइएको छ । बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान आज बिहान सैन्य विमानस्थलमा अवतरण भएको हो ।
बालबालिकाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पु¥याइएको छ । तेह्र, नौ, चार र एक वर्षका ती बालबालिका सहोदर भाइबिहिनी भएको बताइएको छ । कोलम्बियाका राष्ट्रपति गुस्टाभो पेट्रोले उनीहरु जीवितै भेटिनुलाई जादुमय भएको बताएका छन् । ती बालबालिका गएको मे १ मा आफ्नी आमासँग जहाजमा यात्रा गरिरहेका थिए । उनीहरु एमाजोनस प्रदेशको एराराकुराबाट गुवाभेर गइरहेका थिए ।



यात्राकै क्रममा उनीहरु सवार सेसना २०६ नम्बरको हलुका विमान दुर्घटना हुँदा आमा र दुई जना पाइलटको ज्यान गएको थियो । ती तीन जनाको शव जहाज दुर्घटना भएकै स्थानमा फेला परेको थियो । तर चार जना बालबालिका भौतारिँदै अनकन्टार जंगलमा गएको हुनसक्ने आशंकापछि कोलम्बियाई सेनाले खोजी तीव्र पारेको थियो । बालबालिकाका पाइलाका छाप पछ्याउँदै उद्धार टोलीले खोजी गरेको थियो ।



