विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्य अन्नपूर्ण क्षेत्र (एक्याप) मा पछिल्लो वर्ष विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । एक्यापको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१-८२ मा पर्यटक आगमनमा नयाँ कीर्तिमान कायम भएको हो । १ वर्षमै पौने ३ लाख विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका तथ्यांक छ ।गत आर्थिक वर्ष १ सय ७२ देशका २ लाख ७८ हजार ११३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षेण क्षेत्रको भ्रमण गरे । यो संख्या अघिल्लो वर्ष २०८०-०८१ को तुलनामा २५ प्रतिशतले बढी हो । आव २०८०-०८१ मा २ लाख २२ हजार १८० जनाले भ्रमण गरेकामा २०७९-०८० मा १ लाख ७२ हजार १०८ जनाले भ्रमण गरेका थिए । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०८०-८१ को तुलनामा गत आर्थिक वर्षमा पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि भएको छ ।गत वर्ष भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा उच्च छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनपछि धार्मिक पर्यटकको आगमन ह्वात्तै बढेको देखिन्छ । आव २०७९-८० मा १४ औं स्थानमा रहेको चीन, हाल दोस्रो स्थानमा उक्लिएको छ । भारतबाट १ लाख ५३ हजार ८ सय ६५, चीनबाट १० हजार ७ सय ९, अमेरिकाबाट ९ हजार ५ सय ३७, फ्रान्स ९ हजार १ सय ९७, युकेबाट, ८ हजार ३ सय ३५, जर्मनी ८ हजार ७० पर्यटले एक्यापको भ्रमण गरेका छन् ।



तीमध्ये दक्षिण एसियाली मुलुकका १ लाख ५७ हजार ७ सय ८६ र अन्य देशका १ लाख २० हजार ३ सय २७ पर्यटक रहेका छन् । एक वर्षको अन्तरमा ५५ हजार १ सय ३३ पर्यटक बढेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १ लाख ३२ हजार थियो गत वर्ष एक लाख २० हजार पर्यटक एक्यापमा आएका छन् । भारतिय पर्यटक एक दुइ दिनको लागि मात्र यहाँ आउने गरेका छन् भने । तेस्रो मुलकबाट आएका पर्यटक कम्तिमा १० देखि १२ दिन यस क्षेत्रमा बस्ने गरेका अध्यनले देखाउछ । अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शनका लागि आउँछन् भने अन्य मुलुकका पर्यटक पदयात्राकै लागि आउने गर्दछन् । तर, अन्पूर्ण क्षेत्रमा पदमार्गको प्रवद्र्धन र संरक्षण भने वर्तमानको चुनौति बनेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ ।



