क्ल्याप पुल-अप विधामा गिनिज वर्ल्ड रेकर्ड कायम गर्न सफल खेलाडी सुनिल खड्कालाई चन्द्रागिरि नगरपालिका–८ मा सम्मान गरिएको छ। वडामा सक्रिय १४ वटा सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा खड्कालाई सार्वजनिक रूपमा सम्मान गरिएको हो। शनिबार बिहान बौथली चोकस्थित स्वास्थ्य चौकी परिसरमा आयोजित रक्तदान कार्यक्रमको अवसरमा उनलाई सम्मान गरिएको हो। आयोजकहरूले खड्काको मेहनत, साहस र राष्ट्रिय पहिचानलाई विश्वमञ्चमा उचो बनाएको योगदानको उच्च प्रशंसा गरेका छन्।



३२ क्ल्याप पुल-अपसहित विश्व कीर्तिमान
खड्काले हालै एक मिनेटमा ३२ वटा क्ल्याप पुल-अप पूरा गर्दै नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेका हुन्। यसअघि सन् २०१५ मा अमेरिकाका ब्लेक अस्टिनले बनाएको ३० क्ल्याप पुल-अपको कीर्तिमान उनले तोडेका हुन्। गिनिज वर्ल्ड रेकर्डको नियमअनुसार क्ल्याप पुल-अप गर्दा खुट्टा जमिनबाट टाढा रहनु र ताली बजाउँदा हातका हत्केलाले स्पष्ट रूपमा एकअर्कालाई छुनु अनिवार्य हुन्छ। खड्काले यी सबै मापदण्डहरू पूरा गर्दै विश्व कीर्तिमान हासिल गरेका हुन्।
स्थानिय निकायको सम्मान र समर्थन
कार्यक्रममा चन्द्रागिरि–८ का वडाध्यक्ष, संघसंस्थाका प्रतिनिधि, खेलप्रेमी तथा स्थानिय नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो। वक्ताहरूले खड्कालाई प्रेरणादायी व्यक्तित्वको रूपमा चित्रण गर्दै उनका आगामी लक्ष्यहरूमा सफलताको शुभकामना व्यक्त गरेका थिए।
खड्काको आगामी लक्ष्य
सुनिल खड्काले सम्मान ग्रहण गर्दै आगामी दिनमा क्यालिस्थेनिक्स विश्व च्याम्पियनशिपमा सहभागी भई नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने लक्ष्य रहेको बताए। उनले भने, “यो सम्मान मेरो लागि प्रेरणा हो। अबको लक्ष्य विश्वस्तरीय प्रतिस्पर्धामा नेपाललाई प्रतिनिधित्व गर्नु हो।” खेलकुदको माध्यमबाट राष्ट्रिय गौरव स्थापित गर्ने प्रयासमा लागेका युवाहरूको सम्मान र समर्थन समाजले गर्नु आवश्यक छ। सुनिल खड्काको उदाहरणले देखाउँछ कि लगन, निरन्तर अभ्यास र लक्ष्यप्रतिको प्रतिबद्धताले विश्वस्तरीय सफलता सम्भव छ।



