काठमाडौं । देशकै प्रमुख भन्सार नाकामध्ये एक वीरगञ्ज भन्सार कार्यालयको राजश्व संकलन मुख्यतः पेट्रोलियम पदार्थ तथा सवारीसाधनको आयातमा निर्भर रहेको देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले कुल १ खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । यस अवधिमा पेट्रोलियम पदार्थको आयातबाट मात्र ३७ अर्ब ८५ करोड रुपैयाँ राजश्व उठेको छ, जुन कुल संकलनको सबैभन्दा ठूलो हिस्सा हो ।



त्यसैगरी, यातायातका साधन तथा तिनका पार्टपूर्जाबाट १३ अर्ब ९८ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
छ महिनाको अवधिमा फलाम तथा फलामजन्य सामग्रीबाट ६ अर्ब ८३ करोड, कपडा आयातबाट ५ अर्ब २६ करोड र विद्युतीय मेसिनरी तथा उपकरणबाट ४ अर्ब ९१ करोड रुपैयाँ राजश्व उठेको छ ।
यस्तै, मदिराजन्य पेयपदार्थको आयातबाट १ अर्ब ८३ करोड र श्रृंगार सामग्रीबाट १ अर्ब ८१ करोड रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।




