काठमाडौँ – श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्नुभएको छ।राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर पुग्नुभएको थियो। उहाँले भगवान् श्रीकृष्णको पूजाआराधना गरेपछि मन्दिरका पुजारीबाट फूल तथा प्रसाद ग्रहण गर्नुभएको थियो।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रप्रमुखले पाटनको कृष्ण मन्दिर पुगेर पूजाअर्चना गर्ने परम्परा रहँदै आएको छ। सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले पनि मन्दिरमा पुगेर भगवान् श्रीकृष्णको दर्शन गर्नुभएको हो। राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा सांसद जगदिश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधि तथा मन्दिरका पुजारीहरूले स्वागत गर्नुभएको थियो।



जन्माष्टमीका अवसरमा पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको थियो। देशका विभिन्न स्थानबाट आएका श्रद्धालुहरूले मन्दिरमा पुगेर भगवान् श्रीकृष्णको पूजा तथा दर्शन गरेका थिए।



