काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ मा स्थापन गरिएको श्रीविश्वविश्रामेश्वर शिवको प्राणप्रतिष्ठाको शुभारम्भ भएको छ । आज विहान भुजिन्डोलबाट कलस यात्रा निकाली विश्वकै एक मात्र तीर्थस्थल मातातीर्थको पानी ल्याएर श्रीविश्वविश्रामेश्वर भगवान शिवको मूर्तिमा अभिषेक गरी प्राणप्रतिष्ठाको शुभारम्भ गरिएको हो ।
चन्द्रागिरि- ५ मा एउटै ढुंगाबाट निर्मित विश्वविश्रामेश्वर महादेवमा प्राणप्रतिष्ठा सम्पन्न #news
https://youtu.be/w1fX3TSoVys



कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले श्रीविश्वविश्रामेश्वर शिवको यस्तो किसिमको मूर्ति नगरपालिकामै पहिलो भएको बताउनु भयो । उहाँले चन्द्रागिरि नगरपालिका धार्मिक र ऐतिहासिक क्षेत्रमा आफैमा महत्वपूर्ण रहेको र अझ शिवको मूर्ति स्थापनाले नगरको शान बढाएको दाबी गर्नुभयो । नगर भित्र रहेका मातातीर्थ, चन्दन भर्राटेश्वर महादेव मन्दिर, मच्छेनारायण मन्दिर, इन्द्रदहलगायतका मन्दिरहरु नगर गौरबको रुपमा रहेको भन्दै श्रीविश्वविश्रामेश्वर शिव मन्दिरलाई पनि नगरले संरक्षण गर्ने बताउनु भयो । उहाँले नगरपालिका भित्र रहेका विभिन्न ऐतिहासिक मठ मन्दिरहरुको प्रचारप्रसार गर्न नसक्दा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउन नसकिएको उल्लेख गर्नुभयो ।
यस्तै चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले नगरपालिकामा श्रीविश्वविश्रामेश्वर शिवको मूर्ति स्थापना गरेर श्यामलाल श्रेष्ठले उदाहरणीय काम गरेको बताउनु भयो । उहाँले धन भएर मन नहुने व्यक्तिले यस्तो काम गर्न नसक्ने तर श्यामलालसँग धन नभएपनि मन भएकोले श्रीविश्वविश्रामेश्वर शिव स्थापना गर्न सम्भव भएको बताउनु भयो । उपप्रमुख श्रेष्ठले नगरपालिका भित्र भएका मठमन्दिर संरक्षणमा अब थप श्रीविश्वविश्रामेश्वर शिव पनि थपिएको उल्लेख गर्नुभयो ।
यसैगरी आचार्य बालकृष्ण अर्यालले श्यामलाल श्रेष्ठले आफ्नै लगानीमा भगवान शिवको मूर्ति स्थापना गरेको र अबका दिनमा समुदायमा हस्तान्तरण गर्दै सामुहिक रुपमा समाजको भएकोले संरक्षणमा सबै लाग्न आग्रह गर्नुभयो । उहाँले चन्द्रागिरि इतिहास बोकेको नगरपालिका भएकोले यो मन्दिर स्थापनाले धार्मिक क्षेत्रमा थप टेवा पुर्याउन मद्दत पुगेको उल्लेख गर्नुभयो । उहाँले शनिबार देखि शिवपुराण कथा बाचन हुने भएकोले सबै नगरबासीलाई कथा श्रवण गर्न पनि आग्रह गर्नुभयो । उहाँले प्राणप्रतिष्ठाको क्रममा दैनिक विहान ६ बजेदेखि ११ बजेसम्म शिव पूजा, हवन तथा श्री शिवमहापुराण हुने जानकारी गराउनु भयो ।



