पाल्पा । संघ र प्रदेश सभाका सभामुखहरूको भेला सम्पन्न भएको छ । पाल्पाको तानसेनमा तीन दिनसम्म चलेको भेलाले ७ बुँदे निर्णय गरेको छ ।
भेलाले संसद् र संसदीय समितिको भूमिकालाई प्रभावकारी बनाउन संसदबाट निर्मित कानुनको उत्तर विधायिकी परीक्षण हुनुपर्ने निर्णय गरेको छ । उत्तर विधायिकी परीक्षणका लागि आवश्यक कार्यविधि, मापदण्ड तथा मार्गदर्शन बनाउन संघीय संसद सचिवालय र सबै प्रदेशसभा सचिवालयबीच एक आपसमा सहयोग, सूचना, ज्ञान आदानप्रदान गर्ने र प्रदेश सभाले आफ्नो नियमावलीमा उत्तर विधायिकी परीक्षणको विषयलाई राख्ने व्यवस्था गरिनेछ ।



अन्तरप्रदेश व्यवस्थापिका मञ्चलाई सक्रिय बनाइने भएको छ । यस्तै संसदीय बजेट सेवा कार्यालय स्थापना गरिनेछ । स्थिर सरकार बनाउन बैठकले दबाब दिएको छ । सरकारको स्थिरता कायम गरी सुशासन र विधिको शासनलाई जीवन्त बनाउन वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी बनाउन अध्ययन, बहस र छलफलका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने समेत भएको छ ।
अर्को भेला गण्डकी प्रदेशमा हुनेछ ।



