नियमित संचालनमा आएको झन्डै २६ महिना पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्स चीनको ल्हासाबाट यात्रु लिएर शोवार पोखरा विमनस्थलमा अवतरण गरेको छ । हिमालय एयरलाइन्सले चीनको ल्हासा र पोखरा जोड्ने गरी सोमबारबाट पहिलो व्यावसायिक उडान सुरु गरेको हो । ल्हासाबाट १ सय ७ यात्रु बोकेर आएकोे जहाज सोमबार दिउँसो १ बजेर ५५ मिनेट जादा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाज सोमबार पोखरा बसेर मंगलबार बिहान पुनः ल्हासाका लागि उड्नेछ ।



पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरिएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । यसअघि चार्टर उडान हुने गरेको भए पनि विमानस्थल बनेपछि पहिलोपल्ट हिमालय एयरलाइन्सले नियमित व्यावसायिक उडान थालेको हो । ल्हासाबाट आएका यात्रुलाई नेपालका लागि चिनियाँ राजदूत छन सोङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले स्वागत गर्नु भएको थियो । यस्तै सिचुवान एयरलाइन्सले छेन्दु–पोखरा सिधा उडान संचालन गरिरहेको छ । सिचुवानले भने चाटर्ड उडान मात्रै संचालन गरिरहेको छ ।



