राष्ट्रपति रामचन्द्र पौडेलले जनआन्दोलनका उपलब्धिहरू माथि कहीँ, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्ने बताएका छन् । बुधवार शितलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा सबै चनाखो हुनुपर्ने बताएका हुन् ।
उनले सुखद् भविष्य प्राप्त गर्नका लागि राजनीतिक उपलब्धिहरूलाई जोगाउँदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र उर्जा शक्तिको उचित व्यवस्थापन गर्न सके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना रहेको पनि बताए ।



राष्ट्रपति पौडेलले सन्तुलित र प्रभावकारी परराष्ट्र नीतिका माध्यमबाट द्विपक्षीय र बहुपक्षीय अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रलाई सबलीकरण गराउन पनि आह्वान गरे । उनले युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सृजना गर्नुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका लागि विश्व समुदायलाई साथ लिँदै अगाडि बढ्नु अहिलेको अर्को महत्वपूर्ण आवश्यकता भएको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेकाले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।



