काठमाडौं– शीर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्न सहमति जुटेको छ । मंगलबार सिंहदरबारमा बसेको सभामुखसहितको शीर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको हो ।
छलफलमा संसदीय समितिको सभापति छिटो टुङ्ग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशिल, स्तरीय बनाउने बारेमा पनि छलफल भएको सभामुख देवराज घिमिरेले बताउनुभयो ।



उहाँले संसदीय समितिका सभापति चयन गर्ने कुरामा तीन दलका नेताहरु गम्भीर भएको पनि बताउनुभयो । लामो समयदेखि संसदीय समितिहरुको नेतृत्व ज्येष्ठ सदस्यबाट भइरहेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा छिटोभन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको जानकारी दिनुभयो ।
उहाँले राजनीतिमा देखिएका विकृति, विसङ्गति, कमी कमजोरीको समाधान गर्दै लैजाने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भएको पनि जानकारी दिनुभयो ।



