काठमाडौं । उखु किसानले पूर्व पश्चिम राजमार्गअन्तर्गत हरिवनस्थित सडकमा सुतेर विरोध जनाएका छन् ।
उखुको मूल्य तत्काल तोक्नुपर्ने र गत वर्षको बाँकी बक्यौता भुक्तानी गर्नु पर्ने लगायतका माग राख्दै सोमबार राजमार्गमै उखु किसान सुतेर विरोध जनाएका हुन् । उखुको मूल्य प्रतिक्वीन्टल ७ सय ५० रुपैयाँ हुनुपर्ने र गत वर्षकै सरकारले तिर्नुपर्ने ७० रुपैयाँमध्ये २१ रुपैयाँ पाएको र बाँकी रहेको ४९ रुपैयाँ पाउनुपर्ने उनीहरूको माग छ। यसवर्षको मूल्य निर्धारण नभएको र बाँकी रकम भुक्तानी नभएको अवस्थामा किसानहरूले उद्योगलाई उद्योग सञ्चालन नगर्न आग्रह समेत गरेका छन्। तीन बुँदे माग राखेर आन्दोलनमा उत्रिएका कृषकले उखुको मूल्य प्रतिक्वीन्टल ७ सय ५० रुपैयाँ हुनुपर्ने, गत वर्षको बाँकी अनुदान रकम ५३ करोड रुपैयाँ तत्काल पाउनुपर्ने र कृषि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय ,उद्योगीपति र किसानबीच सार्थक वार्ता गर्नुपर्ने माग राखेका छन ।यसैबीच उखु किसानका लागि विभिन्न ६ बुँदे माग राख्दै हरिवन नगरपालिका–११ निवासी शेष इस्तिहारले आमरण अनशन सुरु गरेका छन्। सोमबार बिहान इन्दुशंकर चिनी उद्योगको मूलगेटमा उनले अनशन सुरु गरेका हुन् ।



आन्दोलनमा उत्रेका किसानहरूले सडकमा उखु बोकेका सवारी साधनसमेत चल्न दिएका छैनन् ।



