आरजु राणा देउवा, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी भएकाले, उहाँको नाम सधैं शक्तिशाली महिलाका रूपमा चर्चामा रहन्छ । तर, उहाँ अहिले देशको परराष्ट्रमन्त्री हो । मन्त्री बाहेक व्यक्तिगत जीवनको कुरा गर्दा उहाँलाई अनेक भ्रष्टाचारको आरोप छ । भूटानी शरणार्थी प्रकरणदेखि टीकापुर जग्गा घोटालामा समेत जोडिनुभएका राणा पछिल्लो समीकरणबाट परराष्ट्रमन्त्री बन्नुभयो । आइतबारदेखि पाँच दिने भारत भ्रमणमा रहनुभएकी राणाले सोमबार भारतीय समकक्षीसँग दुईपक्षीय छलफल र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभयो । जहाँ उहाँको गर्विलो उपस्थिति भएको आकलन गरिएको छ । भारतीय जनता पार्टीसँग निकट सम्बन्ध रहेकाले पनि आरजुलाई भारतले महत्व दिएको चर्चा छ । तर राणाको उपस्थितिले भारतको नेपालप्रतिको दृष्टिकोण केही फेरिएको अड्कलबाजी सुरु भएको छ ।
नक्कली भुटानी शरणार्थी काण्ड होस् वा टीकापुर जग्गा प्रकरण, या त निजी स्कुल खोल्ने मामिलामा जनता लुट्ने अभियोग, आरजु राणा देउवाको नाम प्रायः विवादका केन्द्रमा रहने गर्दछ । आफ्ना श्रीमान् देउवाको प्रधानमन्त्रीत्वकालमा, पर्दापछाडिबाट ठूला चलखेल गर्ने आरोपले उहाँको छविलाई सधैँ विवादमा राख्ने गरेको छ । केहीसमयअघि भूटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई पक्राउ गरेलगत्तै राणाको नाम पोल्ने डरले रातारात गठबन्धन भत्किएको माओवादीका सांसद बताउने गर्दछन् ।



आरजुमाथि लागेको कुनै पनि आरोपको पुष्टि भएको छैन । तर टीकापुर जग्गा प्रकरणमा, जहाँ ३० बिघा जग्गा मनपरी ढंगले बिक्री–वितरण गरिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबारे अनुसन्धान सुरु गर्यो । यस मामिलामा २ सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरियो । राणाको नाम पनि यस प्रकरणमा जोडिए तापनि उहाँविरुद्ध कुनै मुद्दा चलाइएन । यिनै विवादित विषयका बीच राणा केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बन्नुभयो । धेरैले विवादित व्यक्ति मन्त्री बनेको आलोचना गरे भने केहीले त थप भ्रष्टाचार हुने संशय राखे । यसबीचमा गत आइतबारदेखि राणाको परराष्ट्रमन्त्रीको हैसियतमा पहिलो पाँच दिने विदेश भ्रमण भारतबाट भएको छ । धेरैले उहाँको क्षमतामाथि प्रश्न पनि उठाइरहेका थिए । तर आइतबार यता राणाको शैलीमा फरक दृष्य देखिएको छ । दिल्ली अवतरण भएपछि उहाँ कुटनीतिसँग जोडिएका पुस्तक हेर्न र पढ्न त्यहाँ स्थित चर्चित पुस्तकालय पुग्नुभएको थियो । धेरैले यसलाई सराहनीय कार्य मानेका थिए । सोमबार महिला परराष्ट्रमन्त्रीको रुपमा भारतीय समकक्षी एस जयशंकरसँगको भेट र दुईपक्षीय छलफलमा नेपालले राखेको हवाई रुट लगायतका विषयमा भारत सकरात्मक हुनुले राणाको उपस्थितिको चर्चा भएको छ । छलफलमा जलविद्युत् परियोजनाहरू, सीमा व्यवस्थापन, र व्यापार तथा आर्थिक साझेदारीजस्ता मुद्दाहरू समावेश थिए। यस भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट रह्यो। यस भेटलाई नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन, प्रधानमन्त्रीस्तरीय सम्बन्धमा सन्तुलन कायम राख्न, र दुबै देशका साझा चुनौतीहरूको समाधान खोज्न महत्त्वपूर्ण मानिएको छ। राणाको यो कूटनीतिक गतिविधिले भारतमा नेपाललाई कूटनीतिक रूपमा बलियो बनाएको चर्चा छ। हुन पनि राणाको उपस्थितिलाई प्रधानमन्त्री ओलीकै उपस्थितिका रूपमा हेरिएको छ । मोदीलाई भ्रमणको निम्तो दिनुले परराष्ट्रमन्त्री दूतका रूपमा त्यहाँ गएको देखिन्थ्यो । तर पहिलो पटक मन्त्री र पहिलो उपस्थितिमा भारतले देखाएको सदासयता र आरजुको आत्मविश्वासले भने विदेशमा आरजुले आफुलाई प्रभावशाली कूटनीतिक नेतृको रूपमा स्थापित गर्नुभएको छ। देशमा बदनाम भए पनि विदेशमा उहाँले देशको शाख बचाएको टिप्पणी भइरहेको छ ।
नेपालमा विवाद र भारतमा शाखको नामले चर्चामा आउनु मन्त्री राणाको व्यक्तित्वको एउटा महत्वपूर्ण पक्ष हो। यद्यपि, नेपालको भित्री राजनीतिमा लागेका गम्भीर आरोपहरू भने अझैपनि मेटिएका छैनन् । यसबाहेक भ्रमणको पूर्ण प्रभाव र यसको वास्तविक परिणाम भने आगामी समयले मात्र स्पष्ट पार्नेछ ।



