काठमाडौं ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले तीन लाख जरिवाना र दुई लाख क्षतिपूर्तिसहित पीडितलाई पाँच लाख रुपैयाँ दिन आदेश दिएको हो ।
गौशाला २६ लाई बलात्कार गरेको आरोप लागेका लामिछानेलाई दोषी ठहर गर्दै सजाय र जरिवाना निर्धारण गरेको हो । यसअघि पुस १३ गते जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको थियो । तर, पीडित बालिग भए पनि जबरजस्ती करणी भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको थियो । सहमतिमा करणी भएको नदेखिएकाले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको अदालतको ठहर छ ।

गत वर्षको भदौ २१ मा काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनी गत वर्ष असोज २० मा पक्राउ परेका थिए ।

यसैबीच क्रिकेटर लामिछानेले बलात्कारको मुद्दाबाट सफाइ नपाएसम्म खेल जीवनबाट आफूलाई अलग राख्ने भएका छन् । उनका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले आफूहरूले सन्दीपलाई मुद्दामा सफाइ नपाउँदासम्म खेल जीवनबाट अलग बस्न सुझाव दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय