सप्तरी, खडक – सप्तरीको खडक नगरपालिका–७, कल्याणपुरमा रहेको सर्पदंश उपचार केन्द्रबाट नेपाली सेनाको जनशक्ति फिर्ता गर्ने निर्णयविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन्। सेनाको भलुवाही ब्यारेकले अपरेशनल आवश्यकताका कारण असार मसान्तसम्म सैनिक फौज फिर्ता गर्न निर्देशन दिएपछि स्थानीयले उक्त निर्णय उपचार केन्द्र बन्द गर्नेसम्मको तयारी भएको शंकास्पद कदमको रूपमा बुझेका छन्।



सप्तरी जिल्लाको एकमात्र सर्पदंश उपचार केन्द्रले दैनिक दर्जनौं बिरामीको उपचार गर्दै आएको छ। सेनाको जनशक्ति फिर्ता भएसँगै उपचार सेवा बन्द हुने वा कमजोर हुने भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्दै विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै केन्द्रमा खटिएका सैनिकहरू यथास्थितिमा राख्न माग गरेका छन्। खडक नगरपालिकाले पनि उपचार सेवा बन्द हुने अवस्था सिर्जना नहोस् भन्दै केन्द्रमा आवश्यक सम्पूर्ण जनशक्ति यथास्थानमै राख्न सरकारसँग औपचारिक आग्रह गरेको छ। यसबीच, स्थानीयहरूले संयुक्त संघर्ष समिति गठन गरी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने तयारी गरेका छन्। उनीहरूका अनुसार सर्पदंश उपचार केन्द्रको संरक्षणका लागि चरणबद्ध आन्दोलन सञ्चालन गरिनेछ।



