सल्यानमा एक पत्रकारमाथि शारीरिक आक्रमण भएको छ। कुमाख राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश परिषद सदस्य नोखिराम थापामाथि आइतबार राति करिब ८ बजे श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा खाना खाइरहेका बेला ५–६ जनाको समूहले कुटपिट गरेको हो।
थापाले दिएका अनुसार, कुटपिटमा शारदा नगरपालिका–६ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका नेता भिकराज बुढाथोकी र शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीका भाइ प्रमोद भण्डारीको समूह संलग्न थियो।
थापाले केही दिनअघि श्रीनगर बसपार्क हस्तान्तरण नहुँदै चिरा परेको विषयमा समाचार प्रकाशित गरेका थिए। सोही समाचारप्रति आक्रोशित भएर आफूलाई योजनाबद्ध रूपमा लक्षित गरी आक्रमण गरिएको थापाको दाबी छ। “खाना खाइरहेको बेला अकस्मात् आएर कुटपिट सुरु गरियो। टाउको र आँखामा गम्भीर चोट लागेको छ,” थापाले बताएका छन्। आक्रमणपछि उनलाई उपचारका लागि श्रीनगरस्थित मेट्रो अस्पतालमा भर्ना गरिएको छ।



नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष डिल्लीराज रावतले प्रेस स्वतन्त्रतामाथि गरिएको आक्रमणलाई गम्भीर रूपमा लिएका छन्। उनले भने, “एक जना जनप्रतिनिधि र अर्को जनप्रतिनिधिको परिवारबाट पत्रकारमाथि हमला हुनु अत्यन्तै निन्दनीय र खेदजनक छ। दोषीलाई राजनीतिक पहुँचको आडमा छुट नदिई कडा कानुनी कारबाही गर्नुपर्छ।” महासंघले प्रशासनसँग तत्काल छानबिन गरी दोषीहरूलाई पक्राउ गर्न र पत्रकार सुरक्षामा जिम्मेवार बन्न आग्रह गरेको छ।
प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो भन्ने मान्यतालाई चुनौती दिने यस्ता घटनाले पत्रकारिता पेसामाथि डर र त्रास फैलाउने काम गर्छ। सरकार र सुरक्षाका निकायले यस्ता घटनाप्रति समयमै कठोर कदम नचाले, अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर संकट उत्पन्न हुने सञ्चारकर्मीहरू चेतावनी दिइरहेका छन्।



