काठमाडौं । नेकपा (एमाले)ले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुकको विद्यमान संकटलाई समाधान गर्न अनुकूलता प्रदान गरेको निष्कर्ष समेत निकालेको छ । त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेको हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको ५ राजनीतिक दलहरु सम्मिलित सरकारमा अन्य राजनीतिक दलहरुलाई साथ र समर्थन गर्नका लागि अनुरोध गर्ने निर्णय गरिएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले बताए । बैठकले जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामहरुलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ ।

नयाँ सत्ता समीकरण मुलुकको स्वाधिनता, स्वाभिमान, राष्ट्रियतको प्रश्नमा, विकास र समृद्धिको प्रश्नमा, सामाजिक न्यायको प्रश्नमा फलदायी हुने विश्वास एमालेले लिएको छ । मुलुकलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पु¥याउने हिसाबले सरकारलाई पार्टीको तर्फबाट सकारात्मक योगदान पु¥याउन पार्टीको तर्फबाट सक्दो योगदान गर्ने निर्णय बैठकले गरेको महासचिव पोखरेलले जानकारी दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसहित पाँच राजनीतिक दल सामेल गठबन्धन बनाएका छन् । गठबन्धनमा एमाले,माओवादी, रास्वपा,जसपा र एकीकृत समाजवादी सामेल छन् ।

 

त्यसैगरी वैशाख ८ र ९ गते पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बस्ने,वैशाख १० गते नेकपा स्थापना दिवस भव्य रूपमा मनाउन विशेष समारोह आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय