देशभरका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन । उखुको मूल्य निर्धारण गर्दा चिनीको बढेको मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागत, उखुको सहउत्पादन समेतको आधार लिनुपर्ने किसानको माग छ ।
बजारमा चिनीको माग बढेको समयमा मूल्य बढाउने र उखु क्रसिङ गर्ने समयमा मूल्य घटाएर उखु उत्पादक किसानलार्ई कम पैसा दिने उद्योगीको नीतिले उखु उत्पादक किसान मारमा परेका छन । उखुको मूल्य नबढाएसम्म उद्योग सञ्चालन गर्न नदिने किसानहरुको भनाइ छ । सरकारले गत वर्षभन्दा उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैया बढाएको छ । हाल उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ६५ रुपैया निर्धारण गरिएको छ । चालु यामका लागि उखुको मूल्य प्रतिक्विन्टल सात सय ५० कायम गर्नुपर्ने माग किसानको छ ।






