नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले सरकारले प्रतिशोधको राजनीति शुरु गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले सरकार आफ्नो विरोधमा बोल्नेलाई प्रतिशोध राखेर सिध्याउने हिसाबले अघि बढेको आरोप लगाएका हुन् । उनले कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप भएको टिप्पणी समेत गरे ।
अध्यक्ष ओलीले स्कुल पढ्दा साथीको चिट चोरेको, प्रमाणपत्र केरमेट भएको जस्ता कुरा समेत उठाएर विरोधीलाई ठेगान लगाउने खेलमा प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लागेको आरोप समेत लगाए । उनले संसदको सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस ३२ सिट भएको माओवादीको पछि लागेको भन्दै ब्यङ्य समेत गरे ।अध्यक्ष ओलीले सत्य बाहिर आउने डरले सरकार सुन तस्करी छानबीनका लागि उच्चस्तरीय समित नबनाउने अडानमा रहेको आरोप पनि लगाए ।






