बारा- सरकारले समयमा भुक्तानी नदिदा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा पुल निर्माणमा ढिलाइ भएको छ । सरकारले रकम नदिएपछि ठेकेदार कम्पनीले सार्वजनिक अपिलमार्फत भुक्तानीको पहल गरिदिन ध्यानाकर्षण गराएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सम्पन्न कामको रकम भुक्तानीको लागि सरकारसंग पहल गरिदिन सार्वजनिक अपील गरेको छ ।




ठेकेदार कम्पनी महादेव खिम्ती हीराचन जेभी काठमाडौंले निर्माणस्थलमा होडिङ्ग बोर्डमा सूचना लेखेर निर्माण पुरा भएको कामको भुक्तानी दिलाउने काममा पहल गरिदिन सरोकारवालाहरुसंग आग्रह गरेको हो । समयमै भुक्तानी नपाएको कारण देखाउदै कम्पनीले हाल निर्माणको काम समेत रोकेको छ ।
ठेकेदार कम्पनीका सञ्चालकले भुक्तानी नपाएसम्म काम अगाडि बढाउन नसक्ने बताएका छन । संझौताअनुसार ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म ५६ प्रतिशतमात्रै काम पूरा भएको हो ।सरकारले समयमै भुक्तानी गरे चालु आर्थिक वर्षमै पुलबाट आवतजावत मात्रै गर्नसक्ने गरी काम सम्पन्न गर्ने ठेकेदारको भनाइ छ ।
ठेकेदार कम्पनीले गत आर्थिक वर्षसम्म सम्पन्न गरेको ५६ प्रतिशत काममध्ये ५० प्रतिशत कामको अर्थात् करिव ५ करोड भुक्तानी लिइसकेको छ भने बाँकी रकम भुक्तानी भएको छैन । पुलको पाईल गर्दा डिजाईन परिवर्तन गर्नुपर्ने देखिएकाले पुनः डिजाईन गर्न सडक विभाग अन्तर्गतका ५ वटा महाशाखाहरु मध्ये पुल महाशाखाले एक वर्ष लगाएको हुदाँ समेत समयमै निमार्ण सम्पन्न हुन नसकेको ठेकेदारको भनाइ छ ।
ठेकेदार कम्पनीले आर्थिक वर्ष २०७४-२०७५ मा ठेक्का सम्झौता भएर पनि सडक विभागले समयमै बेलिबिज्र नबनाइदिएका कारण ३ वर्षसम्म काम सुरु गर्न नसकेको ठेकेदारको भनाइ छ । निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि आगामी असार मसान्तसम्म म्याद थप गरिएको छ । साविक पुलको पिलर दुई पटक भासिएपछि सडकको चौडाइसंगै दुई स्पानको ९० मिटर लम्बाइको पुल निर्माण गर्न पुरानो पुललाई पूर्णरूपमा भत्काएर १५ करोड १२ लाखमा नयाँ पुल निर्माण भैरहेको हो ।



