काठमाडौं । काठमाडौंका बासिन्दाले पुनः मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन् ।

वर्षायाम सुरु भएसँगै रोकिएको पानी आजदेखि पुनः काठमाडौं ल्याउन लागिएको हो । वर्षा सकिए पनि स्थानीय बासिन्दाको अवरोधले पानी ल्याउन सकिएको थिएन । मेलम्ची संघर्ष समितिसँग गएराति १० बजेसम्म भएको वार्तामा सहमति भएसँगै आज साँझदेखि पानी काठमाडौं ल्याउन लागेको हो ।

मेलम्चीको बाढीप्रभावितले राख्दै आएका माघ केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सहमति भएसँगै पानी काठमाडौं पठाइन लागिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाले मेलम्ची खानेपानीको मुख्य आयोजना तथा भेलबाढी प्रभावित हेलम्बु गाउँपालिकाको प्रत्येक वडाको मूल सडक कालोपत्रेका लागि प्राथमिकतामा राखेर संघ र प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश हुनेगरी कार्यान्वयन गर्ने सहमति भएको बताउनु भयो ।

२०७८ असार १, साउन १६ र १७ गतेको भेलबाढीले मेलम्ची नदी तटीय क्षेत्र तहसनहस पारेको थियो । मेलम्ची क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकतामा नराखेको भन्दै बाढी प्रभावित स्थानीय संघर्षमा उत्रिएका थिए ।

उनीहरूले बाढीबाट ज्यान गुमाएका हेलम्बु भेगका १४ जनलाई जनही १०–१० लाख रुपैयाँ दिनुपर्ने, बाढीबाट घरबास गुमाएकालाई आवास निर्माणका तत्काल अनुदान दिनुपर्ने लगायत १७ बुँदे माग राखेर आन्दोलन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय