सर्लाही-स्वास्थ्य संस्था स्तरोन्नति सम्बन्धी विवादलाई लिएर भएको प्रदर्शनमा सर्लाहीमा गोली चल्दा एक जनाको ज्यान गएको छ। सर्लाहीको बरहथवा नगरपालिका स्वास्थ्य संस्था स्तरोन्नतिको विषयलाई लिएर नेपाली कांग्रेसले विरोध जनाइरहेको थियो। त्यही क्रममा शुक्रबार कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो। प्रहरीको गोली लागेर बरहथवा ५ का जयशंकर साहको मृत्यु भएको प्रदर्शनमा सहभागीले बताएका छन्।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले प्रहरीको गोली लागेर साहको मृत्यु भएको पुष्टि गरे। “गोली लागेर एक जनाको मृत्यु भएको छ, थप अनुसन्‍धान भइरहेको छ,” प्रजिअ धमलाले भने। प्रदर्शनकारीको मृत्यु भएपछि बरहथवा क्षेत्र तनावग्रस्त बनेको छ। स्थानीय बासिन्दा पनि विरोधमा उत्रिएका छन्।

बरहथवा नगरपालिका ६ स्थित स्वास्थ्य चौकी स्तरोन्नति गरेर ५० शय्याको बनाइएको छ। यसलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाले निर्णय गरेको थियो। घटनालाई लिएर स्थानीय प्रशासनले शुक्रबार साझ ५ बजे देखि शनिबार विहान ८ बजेसम्मकालागी करफ्यु आदेश समेत जारी गरेको छ ।

अहिले आएर नगरपालिकाले आफै सञ्चालन गर्ने भनेपछि नेपाली कांग्रेस, जनमत पार्टी, जनता समाजवादी पार्टीले विरोध गरेका हुन्। यसअघि गरिएको प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय कार्यान्वयनको माग गर्दै कांग्रेस सहितका दलले शुक्रबरा प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले बताए। अहिले पनि स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय