सर्लाहीको मलङ्गवा गोली प्रहार गरी पुर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या भएको छ । आइतबार साझ ८ बजेको समयमा सदरमुकाम मलङ्गवा नगरपालिका–१०, मा गोली प्रहार गरी पूर्वाधार विकास कार्यालय मलङ्गवा कार्यरत ईन्जिनियर अन्दाजी ३६ वर्षका प्रमोद कुमार यादवको हत्या भएको हो । अज्ञात समुहले चलाएको गोली लागेर गम्भिर घाइते भएका ईन्जिनियर यादवलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यादवको छातीमा गोली लागेको पाहिएको प्रादेशिक अस्पताल मलङ्गवाका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राम प्रकाश साहले जानकारी दिए । यादव माथि भएको गोली प्रहार घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राई बताए । घटनाबारे जानकारी पाए लगतै पुगेको प्रहरी टोलीले यादवलाई तत्काल प्रादेशिक अस्पताल पुर्याएको थियो ।



सिरहा जिल्लाको सुखीपुर नगरपालिका–६, बैशाखा घर भएका यादव मलङ्गवा नगरपालिका–१०, स्थित दुर्गा नन्द यादवको घरमा कोठा भाडामा बस्दै आएका थिए । राती घरमा बसिरहेका उनलाई बाहिर बोलाएको र घरको पेटीमा पुग्ने वित्तिकै अज्ञात समुहले गोली प्रहार गरेर फरार भएको मृतक यादवको श्रीमती पुनम कुमारी यादवले बताएको प्रहरीले जनाएको छ ।घटनापछि विषयमा ठुलो संख्यामा प्रहरी परिचालन गरी अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राईले बताए । गोली हानि हत्या भएको घटना पछि स्थानीय समेत त्रसित बनेका छन् ।




