सल्यान – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरोमा सवार त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी–५ सल्लेकी करिब १८ वर्षीया विपना बुढाथोकी र सोही गाउँपालिका–५ का ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको हो।
प्रहरीका अनुसार रेशम र विपनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते डिल्लीबहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको हो। दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय भुपाल पुन पनि घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेमा त्रिवेणी गाउँपालिका–५ का २९ वर्षीय पारस बोहरा र त्रिवेणी गाउँपालिका–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन्। उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।



घाइतेहरूलाई उद्धार गरी लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचार गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि उनीहरूलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक जानकारी आए पनि दुर्घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



